राजनीति

एमालेको विधान महाधिवेशन आजबाट गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा सुरू हुँदै : यस्तो छ तयारी

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१५ असोज काठमाडौं, नेकपा एमालेको विधान महाधिवेशन आज (शुक्रबार)देखि सुरू हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तयारी गरिएको छ ।उद्घाटन सत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप–महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।

कोरोना महामारीप्रति संवेदनशील हुँदै मास्क, सेनिटाइजरको प्रयोग र थर्मल गनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको छ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, गाडीका चालकहरू सबैको लागि बिहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमै व्यवस्थापन गरिएको छ ।

करिब ६ हजार जना प्रतिनिधिहरु सहभागी हुने यो महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको सांगठनिक संरचना र राजनीतिक कार्यदिशा तय गर्ने छ ।माओवादीसँगको पार्टी एकता बदर भएपछि एमाले पूर्ववत अवस्थामा फर्किएको, पाँच वर्षसम्म सरकार सन्चालनको जनमत पाए पनि तीन वर्षमै सरकार ढलेको, सरकारको नेतृत्व गर्दा दुई पटकसम्म विघटन गरेको संसद सर्वोच्च अदालतले व्युँताइदिएको र यही विवादका कारण एमाले फुटेको अवस्थामा आयोजना गरिएको विधान महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।

विधान महाधिवेशनमा एमालेका पूर्वप्रमुखहरु कोही पनि नरहने भएका छन् । पूर्व पार्टी प्रमुख एवम् पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल र झलनाथ खनालले एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका छन् । एमालेका संस्थापक नेता मुकुन्द न्यौपाने पनि नेपाल–खनालकै पार्टीमा छन् । २०५४ सालमै एमाले छाडेका सीपी मैनाली नेकपा मालेका महासचिव छन् ।

विधान महाधिवेशन तीन दिनसम्म चल्ने छ । विगतमा राष्ट्रिय महाधिवेशनबाट नीति र नेतृत्व टुंगो लगाउँदै आएको एमालेले यस पटक भने नीति तय गर्न अलग्गै विधान महाधिवेशन आयोजना गरेको हो । एमालेले आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । नवौं महाधिवेशन २०७१ सालमा भएको थियो ।

 


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comment here